–नारायणप्रसाद पराजुली
समाज र अपराध दुई पाटा हुन् । समाजमा अपराध हुन्छ । राज्यमा अपराध हुन्छ
र नै राज्यले अपराध नियन्त्रणका लागि संयन्त्र विकास गरेको हुन्छ ।
नेपालको अपराध नियन्त्रण संरचना अनुसार गम्भीर प्रकृतिका अपराध नियन्त्रणमा
प्रहरी र सरकारी वकिलको भूमिका र समन्वय प्रभावकारी हुनु पर्ने अवस्था छ ।
अर्थात अपराध भएपछि त्यसको अनुसन्धान प्रहरीले गर्नु पर्दछ । प्रहरीले
सरकारी वकिल (जिल्ला न्यायाधिवक्ता)सँगको समन्वय र सहकार्यमा अनुसन्धान
गर्ने र जिल्ला न्यायाधिवक्ताले अभियोजन गर्ने कार्य पर्दछ । यसरी
अनुसन्धान पश्चात तयार भएको मिसिलको अध्ययन र कानुनी विश्लेषण तथा ब्याख्या
गरी अदालतले आदेश वा फैसला गर्ने गर्दछ । नेपालको न्याय प्रणालीमा अपराध
अनुसन्धान तथा तहकीकात‚ अभियोजन‚ मुद्दा दर्ता सम्म यति कार्य पर्दछन् ।प्रसंग मित्र यादव पौडेलको हत्यको हो । उक्त हत्याका आरोपीमध्ये तीन जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ भने एक जना धरौटीमा छुटेका छन् । सवाल को छुटे को थुनामा परे भन्ने हैन‚ अनुसन्धानको विश्वासनीयता र गम्भीरताको हो । एउटा अपराधको अनुसन्धान जटिल कार्य हो । र‚ अपराधको अनुसन्धानमा प्रमाणहरूको सिलसिलेबार प्रस्तुति हुनु पर्दछ । अनुसन्धानका क्रममा प्राप्त एउटा तथ्यले अर्को तथ्यलाई समातेको हुनु पर्दछ । अर्थात तथ्य र प्रमाण अनुसन्धानको धागोमा सिलसिलेबार भएर उनिनु पर्दछ । तर यस घटनामा अनुसन्धानको यो कार्य भयो कि भएन भनेर खासै खोजिएन । तत्कालका लागि तीन जना आरोपी थुनामा गए । यसैमा यो अपराध र यससँग जोडिएको आन्दोलन सेलाएको र घटना ओझेलमा परेको आभाष भएको छ ।
त्यसो त सरकारले गठन गरेको न्यायीक छानविन समितले प्रतिवेदन दिन बाँकी नै छ उसले प्रतिवेदन दिने कार्य भनेको प्रकृयागत कुरा मात्र हो । त्यो प्रतिवेदन जस्तोसुकै आएपनि यस मुद्दामा भइसकेको अनुसन्धानलाई कानुनी रूपमा त्यसले कुनै प्रभाव पार्न नसक्ने कुरा छदैछ । अझ आश्चर्यको कुरा त यस घटनामा नेपाल पत्रकार महासंघको मिसन टोलीले पनि कुनै अध्ययन गर्न सकेन । साधन र श्रोतको अभावमा घटनाको अध्ययन लगभग असम्भव नै हुन्छ र उक्त मिसन टोलीसँग श्रोत साधन नभएकाले उसले अनुसन्धान गर्न नसकेको हुन सक्छ । तर उसले जुन प्रतिवेदन सार्वजनिक गर्यो त्यो जानेर वा नजाने प्रहरीलाई प्रभावकारी अनुसन्धान गर्न दवाव दिने प्रकृतिको रहेन । प्रहरीले पत्रकार सम्मेलन गरेर उसको अनुसन्धन प्रगतिको जानकारी गराएकै कुरालाई समर्थन गर्ने तथ्य समावेश गरेर प्रतिवेदन सार्वजनिक गरियो र अन्त्यमा घटना रहस्यमय भएकाले प्रभावकारी छानविनको कुरा उठाइयो । यसरी सो प्रतिवेदन आफैंमा विरोधाभाषपूर्ण रह्यो । सो प्रतिवेदनमा अन्य कुरा उल्लेख नगरी प्रभावकारी न्यायीक छानविनको माग मात्र गरिएको भए पनि अनुसन्धानले यो मोड लिने थिएन कि ! यादव पौडेलको हत्याको विवरण छर्लङ्ग सँग आँउथ्यो कि ! यसर्थ सो प्रतिवेदनका कारण पनि प्रहरी प्रभावकारी अनुसन्धानतर्फ नलागेको हो कि भन्ने देखिएको छ ।
हुन त यादव पौडेलका विरूद्धमा पनि प्रसस्तै कुराहरू बजारमा आए । ती कति आधिकारिक थिए त्यो अर्कै विषय रहयो । पत्रकारले आफ्नो आचरणमा बस्नु पर्ने नपर्ने‚ रातबिरात नशा प्रयोग गरेर यौनकार्य गराउने होटलमा चाहार्ने कुरा पत्रकारिताको सिद्धान्त अनुकूल कसरी हुने भन्ने लगायतका यावत प्रश्नले बजार तताएकै हो । यो कुरा यादव पौडेल व्यक्तिगत आचरण र जीवनसँग सम्वन्धित कुरा हो । जस्तो सुकै कार्य गर्ने व्यक्ति चाहे त्यो अपराधी नै किन नहोस् तर उसको ज्यान लिने अधिकार कसैलाई हुन्न । नेपालको संविधानले त मृत्युदण्डलाई स्वीकार गरेको छैन भने कुनै व्यक्तिले यो वा त्यो बहानामा कसैको ज्यानलिन सक्दैन । यादब पौडेलमाथि लगाउन खोजिएका ती सबै आरोप प्रमाणित नै भए भने पनि उनको ज्यानलिने कर्तुत अपराध नै हो त्यसका दोषी अपराधी नैं हुन् । यसमा दुईमत छैन ।
अपराध अनुसन्धनका क्रममा प्रहरीले जाहेरी पर्नु अघिनैं पत्रकार सम्मेलन गरेर अनुसन्धन कुन चरणमा पुगेको छ भनेर जानकारी गरायो । यसै क्रममा उसको विरोधाभाषपूर्ण कथन सार्वजनिक भयो । अपराधमा संलग्न भनिएका मदन राईलाई फरार अभियुक्तका रूपमा खोजी गरिरहेको थियो भने अर्कातर्फ उनै मदन राई अपराधमा संलग्न नरहेको भनी सफाइ दिइरहेको थियो । जसका विरूद्ध अनुसन्धान गरिरहेको हो ऊ निर्दोष भए अदालतबाट सफाइ पाउने कुरा स्वाभाविक रहन्छ । तर‚ आफैले खोजी गरि अनुसन्धान गरिरहेको अभियुक्तलाई अनुसन्धानकै क्रममा आफैले निर्दोष छ भनी सफाई दिनु कुनै पनि अनुसन्धानको सिद्धान्त अन्तर्गत नपर्ने कुरा प्रहरीले गरिरहेको थियो । यसबाट दुईवटा प्रश्न उब्जिएको छ । मदन राई निर्दोष थिए भने प्रहरीले किन उनलाई फरार अभियुक्तको सूचिमा राखेर खोजी गर्यो ? र अपराधमा संलग्न थिए भने किन आफैले निर्दोष भनेर प्रचार गर्यो ? यसरी प्रहरीको अनुसन्धानमा प्रश्न उठाउने प्रशस्तै ठाउँ पाइन्छ ।
यस मुद्दाको अनुसन्धनबाट प्रहरीले त्यस्तो प्रमाण पत्ता लगाउन सकेको छैन जसका आधारमा प्रथम दृष्टिमै हत्याको कडि पत्ता लागोस् । घटना नदेखेका नजानेकाले पनि प्रहरीले अनुसन्धन गरेको मिसिलबाट घटना छर्लङ्ग बुझुन् । युवाराज गिरीले छतबाट उचालेर फालेको कारणबाट यादव पौडेलको मृत्यु भएको प्रहरीको अनुसन्धानको निष्कर्ष रहेको सो मुद्दामा संलग्न कानुन व्यवसायीहरूले बताउनु भएको छ । तर‚ घटनाको पृष्ठभूमि र हत्या गर्नु पर्ने अवस्थाको विश्लेषण र त्यस सम्वन्धी प्रमाणको सृङ्खला मिसिलमा पाइदैन । आरोपी मध्येकी मञ्जुले आफू ईन्कार रहेर गरेको वयानलाई अनुसन्धानको आधार बनाएको पाईन्छ । यसरी प्रहरीले यस घटनाको गम्भीर अनुसन्धन नगरी तत्कालको अवस्थालाई मात्र मध्यनजर गरेर अनुसन्धान गरेको देखिन्छ ।
प्रहरीको अनुसन्धनले घटनालाई थप रहस्यमय बनाएको छ । छतबाट फालेर हत्या भएको भए उनका शरीरमा रहेका चोट पटक के कारणबाट भएको हो प्रष्ट छैन । अन्यत्र वारदात भएको भए सो कुराको खुलास छैन । यसरी प्रहरीको अनुसन्धानले घटनालाई थप रहस्यमय बनाएको छ । प्रहरीको अनुसन्धानमा यादव पौडेलको हत्या कसले किन र कसरी गर्यो भन्ने प्रश्नको जवाफ अझेलमा छ ।
हाल यो विषय कानुनी प्रकृयामा प्रवेश गरिसकेको छ । यस घटनाका दोषी भनिएका सोमनाथ ढकाल‚ मञ्जु ढकाल‚ युवराज गिरी र मदन राई विरूद्ध प्रहरी अनुसन्धन सम्पन्न भई मुद्दा अदालतमा प्रवेश गरेको छ । झापा जिल्ला अदालतको आदेश अनुसार मदन राई बाहेकका प्रतिवादी पुर्पक्षका लागि थुनामा गएको अवस्था छ । जे भएपनि यो मुद्दा अदालतमा प्रवेश गरिसकेको छ । र‚ अदालतले पनि अनुसन्धानका क्रममा संकलित प्रमाणभन्दा वाहिर गएर फैसला वा निर्णय गर्न सक्ने अवस्था रहदैन । शायद तत्कालको प्रमाण र मानवीय संवेदनशीलता समेतका आधारमा अदालतले एक प्रकारको आदेश गरिसकेको छ । यस आदेशको विरूद्धमा पुनरावेदन गर्ने लगायतको कानुनी प्रकृया रहन्छ । अव मुद्दाले अदालतको कार्यविधि पूरा गर्दै फैसलासम्मको यात्रा तय गर्ने छ ।
राज्यले नागरिकको सुरक्षाको जिम्मा लिएको हुन्छ । नागरिक सुरक्षाको दायित्त्व राज्यको हो । तथापि राज्य यो दायित्त्व पूरा गर्न चुकेको हुन्छ र समाजमा अपराध भइरहेका हुन्छन् । राज्य आफ्नो प्राथमिक दायित्त्वबाट चुके पनि अपराध भइसकेपछि त्यो अपराध हुनाको कारण सहितको तथ्य सार्वजनिक गर्नु पर्दछ । राज्य यो दायित्त्वबाट पनि पन्छन मिल्दैन । राज्यले यादव पौडेललाई बनाउन नसके पनि उनको हत्या कसरी किन र के कारणबाट भएको हो सो कुरा प्रष्ट पार्न सक्नु पर्दछ । सरोकारवालालाई यादव पौडेलको हत्या कसरी भयो सोध्ने र जवाफ पाउने हक छ । त्यो जवाफ दिने राज्यको दायित्त्व हो । तर‚ यस घटनामा प्रहरीको अनुसन्धान हेर्दा‚ संकलित मिसिल हेर्दा यो कुराको जवाफ पाइदैन । यसले यादव पौडेलको हत्यालाई थप रहस्यमय बनाएको छ ।
(लेखक - कानुन व्यवशाहि हुनुहुन्छ)
No comments:
Post a Comment