Sunday, 15 April 2012

यही सरकारमा सहभागी नहुने -कङ्ग्रेस , एमाले

काठमाडौ, वैशाख ३ (टप नेको)- प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेस र नेकपा एमालेका नेताले प्रधान मन्त्री बाबुराम भट्टराई नेतृत्वको अहिलेको सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन्। उनीहरुले यो सरकारले भ्रष्टाचारको रेकर्ड बनाएकाले पनि यसमा सहभागी भएर जोकर बन्न नसकिने बताए। रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य रामशरण महतले अहिलेकै सरकारमा कङ्ग्रेस कुनै पनि हालतमा सहभागी नहुने स्पष्ट पारे। उनले भने– अहिलेको सरकारमा कङ्ग्रेस सहभागी हुँदैन। भ्रष्टाचारमा रेकर्ड बनाएको तमासको सरकारमा कङ्ग्रेस सहभागी भएर जोकर बन्न चाहँदैन। साक्षात्कारमा महतले प्रधान मन्त्रीले राजिनामा दिएर नयाँ सहमतिको सरकार बनाउन वातावरण तयार गरिदनुपर्ने तर्क गरे। संविधान जारी गर्नुअघि नै नेपाली कङ्ग्रेसको नेतृत्वमा सहमतिको सरकार बन्नुपर्ने उनले दाबी पनि उनले गरे। उनले भने– माओवादी र एमालेले दुई दुई पटक सरकारको नेतृत्व गरिसकेका छन्। अब कङ्ग्रेसको दावी स्वाभाविक हो। यसमा कसैको पनि दुई मत छैन। महतले कङ्ग्रेसका लागि अहिलेको प्राथमिकता संविधान निर्माण र दोस्रोमा द्वन्द्वकालमा कब्जा गरिएका सम्पत्ति फिर्ता भएको भन्दै सरकार निर्माण तेस्रो प्राथमिकतामा रहेको बताए। जातीयताको आधारमा सङ्घीयतामा गए मुलुकमा जातीय द्वन्द्व हुने चेतावनी दिँदै महतले सांस्कृतिक, भूगोल, ऐतिहासिक निरन्तरता, आर्थिक सम्भाव्यता, भाषा र भेषभुषालाई पनि आधार बनाएर सङ्घीयता निर्माण गर्नुपर्ने धारणा राखे। यसैगरी साक्षात्कारमा नेकपा एमालेका नेता प्रदीप ज्ञावलीले सरकार निर्माणको बेला भएको चार बुँदे सहमति खारेज नभएसम्म अहिलेको सरकारमा एमाले कुनै पनि हालतमा नजाने स्पष्ट पार्दै चार बुँदे सहमति खारेज भए प्रधान मन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारमा जान एमालेलाई कुनै आपत्ति नरहेको बताए। यद्यपि उनले अबको सरकारको नेतृत्वमा कङ्ग्रेसको दावी स्वाभाविक भएको र त्यसमा एमालेको समर्थन रहेको स्पष्ट पारे। सरकार निर्माणको आधार मधेसी मोर्चासँग भएको चार बुँदे सहमतिका केही बुँदा राष्ट्रघाती भएकाले पनि राष्ट्रघाती सरकारमा एमाले नजाने बताए। संविधान जारी गर्ने बेलामा सबैले स्वामित्व महसुस गर्नेगरी राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने भन्दै सहमतिको सरकारको नेतृत्व नेपाली कङ्ग्रेसको नेतृत्वमा बन्नुपर्ने उनले बताए। जातीय आधारमा सङ्घीयता नहुने दाबी गर्दै ज्ञवालीले स्थानीय निकाय बलियो हुनेगरी ६ देखि ९ वटासम्म प्रदेश निर्माण गर्नुपर्ने धारणा राखे। उनले भने– स्थानीय सरकार बलियो हुनेगरी सङ्घीयतामा जानुपर्छ। सङ्घीयता निरन्तर विकास हुने मोडलमा जानुपर्छ। संविधान आफैंमा गतिशील दस्तावेज भएको भन्दै सङ्घीयतामा सीमाङ्कन र नामाकरणको विषय नटुङ्गिए त्यसलाई पछि टुङ्ग्याउनेगरी संविधान जारी गर्न सकिने दावीसमेत उनले गरे। संविधान निर्माण कार्य बहस र तर्कबाट सम्झौता गर्नुपर्ने अवस्थामा पुगेको भन्दै उनले दलहरुले आ-आफ्नो अडान छाडेर अगाडि बढ्नुपर्ने आवश्यकता पनि औल्याए। प्रधान मन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले संविधान निर्माण गर्नतर्फ लाग्नुपर्ने बेलामा सरकार परिवर्तन गरिए मुलुक गम्भीर दुर्घटनामा फस्ने चेतावनी दिए। पौडेलले अहिले सरकार परिवर्तनमा लाग्नु भनेको काशी जानु कुत्तिको बाटो जस्तो उल्टो प्रक्रिया भएको भन्दै यही सरकारमा कङ्ग्रेस र एमाले सहभागी भएर संविधान जारी गर्नुपर्ने धारणा राखे।

No comments:

Post a Comment