Tuesday, 20 March 2012

दुर्घटनामा पांचको निधन ।

काठमाडौ, चैत्र ८ - भक्तपुर र सप्तरीमा बुधबार बिहान भएको छुट्टा छुट्टै दुर्घट्नामा पाँच जनाको निधन भएको छ । भक्तपुरमा एसएलसी परीक्षा दिन हिडेका दुई विद्यार्थीको निधन भएको हो ।
राससका अनुसार एसएलसी परीक्षा दिन मोटरसाइकलमा गएका दुई विद्यार्थीको दुर्घटनामा परी ज्यान गएको छ ।
बा४८प ७१७ नम्बरको मोटरसाइकलमा आज बिहान भक्तपुरको गुन्डु गाविस वडा नं ९ सरस्वती शिक्षा सदनबाट परीक्षा दिन भक्तपुरको जगातेस्थित आदर्श आजाद मावि केन्द्रमा गएका दुई विद्यार्थीको केन्द्र नजिकै पुगेपछि भएको मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको हो ।
दुर्घटनामा गुन्डु गाविसकै सन्तोष देउजाको घटनास्थलमै ज्यान गएको छ भने अर्का मोटरसाइकलमा सवार झापा घर भई भक्तपुरको सल्लाघारी सिर्जनानगर बस्ने विकास लामाको काठमाडाँै मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीव्रगतिमा आएको मोटरसाइकल जगातेस्थित भक्तपुर आयल स्टोर नजिकैको मोडमा मोड्न खोज्दा अनियन्त्रित भई नालीमा खसेर दुर्घटना भएको महानगरीय प्रहरी वृत्त जगातेका प्रहरी निरीक्षक चक्र बस्नेतले जानकारी दिए ।
देउजाको शव भक्तपुर अस्पताल र लामाको शव काठमाडौ मेडिकल कलेजमा राखिएको छ । शव परीक्षणका त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइने प्रहरीले जनाएको छ ।
त्यस्तै सप्तरीको महुली बजारमा बुधबार बिहान भएको बस दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने २९ भन्दा बढी यात्रु घाइते भएका छन् ।
उदयपुरको गाईघाटबाट धरानतर्फ जाँदै गरेको ना२ख १३५५ नम्बरको शेर्पा ट्राभल्स पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको महुली बजारमा अनियन्त्रित भई पल्टिँदा बसमा सवार उदयपुरको बोक्सेका रुद्र राउतको मृत्यु भएको हो ।
मृतक अन्य दुईजनाको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेन्द्र बस्नेतले बताए । परिचय खुल्ने कागजात मृतकको साथबाट फेला नपरेको र घाइतेलाई उपचारका लागि राजविराज, धरान तथा विराटनगर पठाइएको हुँदा सनाखत हुन नसकेको प्रहरी निरीक्षक बस्नेतले बताए ।
अत्यधिक गतिमा रहेको बसले सडक पार गर्दै गरेको बाख्राको समूहलाई बचाउन खोज्दा बजारमा रहेको चौतारामा ठोक्किएर बस पल्टेको स्थानीय रेडक्रसका सभापति चितनारायण यादवले जानकारी दिए ।
जिल्लामा उपलब्ध आठ एम्बुलेन्स, स्थानीय मारुती तथा म्याजिक भ्यान मार्फत घाइतेलाई उपचारका लागि पठाइएको स्थानीय रेडक्रस सोसाइटीका सभापति यादवले जानकारी दिए ।

No comments:

Post a Comment